दफा १०
उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने काम
कसैले पनि कुनै उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा देहायका कुनै काम गर्न, गराउन हुँदैन –
(क) कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न ।
(ख) उपभोक्तालाई झुक्याउने गरी कुनै उपभोग्य वस्तुको नक्कल गर्न ।
(ग) कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी वा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न ।
(घ) कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामात्मक प्रचार प्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न ।
(ङ) उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तु वा सेवाको उत्पादन वा बिक्री वितरण गर्न ।
(च) तोकिए बमोजिमका अन्य कामहरू गर्न ।